×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

बागमती प्रदेशसभा सदस्य श्रेष्ठद्वारा राधाकृष्ण मन्दिरको समुद्घाटन

बागमती प्रदेशसभा सदस्य श्रेष्ठद्वारा राधाकृष्ण मन्दिरको समुद्घाटन

हेटौँडा, १९ भदौ । बागमती प्रदेशसभा सदस्य माननीय एकालाल श्रेष्ठले हेटौँडा उपमहानगरपालिका–६ मा निर्माण गरिएको राधाकृष्ण मन्दिरको समुद्घाटन गरेका छन्। शान्तिटोल टोल विकास संस्था र रानी सामुदायिक वन उपभोक्ता समूह, हेटौँडा–६ को पहलमा निर्माण गरिएको उक्त मन्दिरको एक कार्यक्रमबीच प्रदेशसभा सदस्य श्रेष्ठले समुद्घाटन गरेका हुन्।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य श्रेष्ठले राधाकृष्ण मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आफू सधैँ क्रियाशील रहने बताएका छन्। स्थानीयवासीहरूको निरन्तर प्रयासबाट यस क्षेत्रको धार्मिक महत्व र पहिचान क्रमशः विकास हुँदै गएको उल्लेख गर्दै उनले यसको थप विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आफू यस क्षेत्रको जनप्रतिनिधि भएकाले आफ्नो निर्वाचन क्षेत्रभित्रका हरेक विकास निर्माणका काममा सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताउँदै श्रेष्ठले आगामी दिनमा बजेट विनियोजनका क्रममा यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्ने बताए।

कार्यक्रममा राधाकृष्ण मन्दिर निर्माण समितिका अध्यक्ष पूर्णभद्र चौलागाईंले मन्दिर निर्माणका क्रममा भएको आम्दानी तथा खर्चको विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, हेटौँडा–१० का वडा अध्यक्ष फूर्वा दोर्जे लामा, नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, हेटौँडा–६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाईं, मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–६ का अध्यक्ष बासुदेव खतिवडा लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी नौलो बिहानी कृषि सहकारीका अध्यक्ष विष्णुप्रसाद ढुङ्गाना, बंशगोपाल बहुमुखी क्याम्पसका अध्यक्ष विश्वराज राई, सृजना टोल विकास संस्थाका अध्यक्ष जीवकुमारी पौडेल, गुप्तेश्वरी टोल विकास संस्थाका अध्यक्ष नानीमाया रुम्बा तथा रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष केशव कोइराला लगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीयवासी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। मन्दिर निर्माणसँगै यस क्षेत्रको धार्मिक पहिचान थप मजबुत बन्ने र भविष्यमा धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्