×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

रसुवा बाढी पीडित हेटौँडाका दुई परिवारलाई जनही ५० हजार राहत

रसुवा बाढी पीडित हेटौँडाका दुई परिवारलाई जनही ५० हजार राहत

हेटौँडा । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका हेटौँडा उपमहानगरपालिका–१५ का दुई जनाका परिवारलाई वडा कार्यालयले आर्थिक राहत उपलब्ध गराउने भएको छ। बाढीमा ज्यान गुमाएका सुमन गोले र रमेश मगरका परिवारलाई जनही ५० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको हेटौँडा–१५ का वडा अध्यक्ष सुनिल मोक्तानले बताएका छन्।

मृतक परिवारलाई काजकिरिया तथा अन्तिम संस्कारका लागि आर्थिक सहयोग पुगोस् भन्ने उद्देश्यले वडा कार्यालयले राहत उपलब्ध गराउने निर्णय गरेको हो। विपद्को पीडादायी अवस्थामा परिवारलाई केही भए पनि सहयोग र सहारा मिलोस् भन्ने उद्देश्य रहेको अध्यक्ष मोक्तानले बताए। रसुवा बाढीको घटनापछि अध्यक्ष मोक्तान सुरुदेखि नै खोजी तथा उद्धार कार्यमा सक्रिय रहेका थिए। बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न उनी निरन्तर खटिएको बताइएको छ। शव पहिचानपछि मध्यबिन्दु हुँदै भरतपुर अस्पतालसम्म पुगेर आवश्यक प्रक्रिया पूरा गरी मृतकहरूको पार्थिव शरीर परिवारसम्म ल्याउने कार्यमा समेत वडा अध्यक्ष मोक्तानको सक्रिय भूमिका रहेको थियो।

विपद्को कठिन घडीमा स्थानीय सरकार नागरिकको दुःखमा साथमा रहेको अनुभूति दिलाउन आर्थिक राहतको घोषणा गरिएको वडा कार्यालयले जनाएको छ। हेटौँडा–१५ नम्बर वडा कार्यालयले बाढीमा ज्यान गुमाएका सुमन गोले र रमेश मगरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्